विवश र नेहालाई जोय मोडल हन्ट नेपाल सिजन ९ को उपाधि

राम्रो अनलाइन     २७ माघ २०८१, आइतबार
विवश र नेहालाई जोय मोडल हन्ट नेपाल सिजन ९ को उपाधि


काठमाडौं–दरबारमार्गस्थित होटल याक एण्ड यतिको रिगलबल रुममा भव्य रुपमा सजाइएको रनवे सेटअपमा फेसन र मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने चाहना बोकेका ३३ जना युवती र १७ जना युवाहरूको जोडदार प्रस्तुतिकाबीच जोय मोडल हन्ट नेपालको नवौं संस्करण सम्पन्न भएको छ । फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व संयोजन अनुभव गर्न पाइएको नेपालकै बृहत् एवं प्रतिष्ठित उक्त मोडलिङ प्रतियोगितामा पुरुषतर्फ विवश विष्ट महिलातर्फ नेहा बुढाले शीर्ष उपाधि जित्न सफल भए । 

विजेता दुबै जनाले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा संचालन हुने मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर पनि पाएका छन् । प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्र्ट रनर अप तथा एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगिताको टप फाइभसम्मको यात्रामा पुरुष तर्फ मनिष गौतम र प्रसुन कुमार तथा महिला तर्फ पूजा सिंह राजपूत र रानी खड्का पुगेका थिए ।

स्मृति लम्साल, सिला र कासा जस्ता नेपालकै कहलिएका डिजाइनर ब्राण्डलाई पहिरिएर सहभागी युवतीहरू तथा ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड पहिरिएर सहभागी युवाहरूले प्रतियोगिताको प्रारम्भिक चरणमा आ–आफ्नो दमदार प्रस्तुति दिएका थिए । सहभागी धेरैजनाको पहिलो रनवे उपस्थिति भएता पनि उनीहरूको रनवे प्रस्तुति व्यवसायीक एवं अनुभवी मोडलकोभन्दा कम देखिएको थिएन । रनवे पर्फमेन्समा उनीहरूको आत्मविश्वास, स्टाइल, प्रस्तुति हेर्न लायकको देखिएको थियो । 

प्रतियोगिताको उत्कृष्ट १२ सम्म पुगेका महिला सहभागी र उत्कृष्ट आठ भित्र पर्न सफल पुरुष सहभागीले भने डिजाइनर मनिश राईले तयार पारेका पहिरनमा आ–आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिता त्यसपछि पुरुष र महिला दुवै तर्फ उत्कृष्ट पाँच छानिँदै विजेता उपविजेता चयनसँगै भव्य रुपमा सम्पन्न भएको थियो।

तीन घण्टा सम्मको चलेको उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना नेक्स्ट मोडल्स नेपालको गरेको थियो भने कार्यक्रमको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए । कार्यक्रमको कोरियोग्राफी सुपर मोडल सविता कार्कीले गरेकी थिइन् भने कार्यक्रमको संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । 

प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरीले प्राप्त गरे भने केएफसी वेष्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र डा. अनिमा भण्डारी उत्कृष्ट ठहरिए । रियलमी वेष्ट वाक विधामा छेवाङ शेर्पा र पूजा सिंह राजपूत बाजी मार्न सफल भए भने द वीच हाउस पब्लिक च्वाइस तर्फ आदित्य कौशल र सारु कार्कीडोली परियार विजेता बने । आर्टेसियम प्रोडक्सन मोस्ट फोटोजेनिक तर्फ  प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडल तर्फ आयन चौधरी र वेष्ट फिगरमा नेहा बुढा विजेता चयन भएका थिए । विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे भने खल्ती मोष्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी भए ।

जोय मोडल हन्ट नेपालको नवौं संस्करणको फाइनल प्रतिस्पर्धाको मुल्यांकन पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिष्टर नेपाल २०२४ का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्सका नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेलले गरेका थिए ।

प्रतिक्रिया