काठमाडौं – बसिर अहमदको अर्धशतकप्रेरित विराटनगर किंग्सलेनेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलममा चितवन राइनोजसामू १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको योगफल तयार पारेको थियो ।
विराटनगरका लागि बसिरले ४४ बलमा सामन चार चौका र छक्काको मद्दतले अविजित ६८, मार्टिन गप्टिलले ४५ र राजेश पुलामीले अविजित ३३ रन बनाए । चितवनका लागि रिजन ढकालले दुई तथा सोहेल तन्विर, बसिल हामिद र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।
पहिलो ओभरको दोस्रो बलमा लोकेश बमलाई रजिन ढकालले रनको खाता पनि खोल्न नदिइ बोल्ड गरे । सोही ओभरको पाँचौं बलमा चार रन बनाएका दीपक बोहरा बोल्ड भए । दोस्रो ओभरको चौथो बलमा सोहेल तन्विरले स्कट एडवार्डसलाई रनको खाता पनि खोल्न नदिइ रिव बोपाराबाट क्याच गराए ।
सातौं ओभरको दोस्रो बलमा आठ रन बनाएर खेलिरहेका निकोलस किर्टनलाई बसिल हामिदले एलबिडब्ल्युको धरापमा पारे । मार्टिन गप्टिल १४औं ओभरको पाँचौं बलमा पेभेलियन फर्किए । ३५ बलमा चार छक्का र एक चौकाको मद्दतले ४५ रन बनाएका उनलाई कप्तान कुशल मल्लले बोल्ड गरे ।