शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा  

राम्रो अनलाइन     १० असोज २०८१, बिहिबार
शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा  


काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिति बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, चालु खाता रु ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९इक्विटि मात्र० रु दुई अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात नौ दशमलव छ प्रतिशतले घटी रु १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा आठ दशमलव सात प्रतिशतले कमी आएको थियो । यस्तै,  कूल वस्तु आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आई रु एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव छ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात चार दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । 

प्रतिक्रिया