भारतमा एकै दिन एक लाख ६१ हजार जनामा कोभिड संक्रमण 

एजेन्सी     ३१ चैत २०७७, मङ्गलबार
भारतमा एकै दिन एक लाख ६१ हजार जनामा कोभिड संक्रमण 

नयाँदिल्ली, ३१ चैत (सिन्ह्वा) : भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

गत २४ घण्टामा भारतमा एक लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ । 

भारतमा हिजो मात्र पनि एक लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमबार जनाएको थियो । पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । 

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको संख्या दैनिकरुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । 

त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख ७१ हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ ।

गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।  
 

प्रतिक्रिया