हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु

राम्रो अनलाइन     ०६ भदौ २०८१, बिहिबार
हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु

 

काठमाडाैं – बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जिप धनी मल्ल आफैँ थिए ।

मल्लका दाई नाता पर्ने रोशन शाहीले भने, 'रमेशले जिप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जिप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उनी घरको एक्लो छोरा थिए।'

दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया