बाङ्लादेशमा चार सय नेपाली विद्यार्थी, सबै सुरक्षित : दूतावास

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
बाङ्लादेशमा चार सय नेपाली विद्यार्थी, सबै सुरक्षित : दूतावास

 

काठमाडाैं – बाङ्लादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। ‘बाङ्लादेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासले भनेको छ।

विद्यार्थीको आन्दोलनका कारण बाङ्लादेशमा सोमबार बिहानैदेखि देशभर कर्फ्यू लगाइएको छ। राजधानी ढाका सहित देशका प्रमुख शहरमा ठूलो संख्यामा सैनिक परिचालन गरिएका छन्। आइतबार भएको झडपमा ९५ जनाको ज्यान गएको छ।

बाङ्लादेशमा रहेका केही विद्यार्थी स्वदेश फर्किइसकेका छन्। अहिले त्यहाँ करीब ४०० विद्यार्थी रहेको दूतावासले जनाएको छ। ‘बाङ्लादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करीब ४०० विद्यार्थी सहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहेकाे र उनीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, दूतावासले स्वदेश फर्किन चाहने विद्यार्थीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ। दूतावासमा सम्पर्क गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले सचेत गराएको छ।

बाङ्लादेशको स्वतन्त्रता आन्दोलनमा सहभागीका परिवारलाई दिंदै आएको आरक्षण हटाउन माग गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढीको ज्यान गएको छ।

त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ। पछिल्लो पटक आइतबारदेखि आन्दोलन फेरि चर्किएको हो। यस पटक भने आन्दोलनकारीले प्रधानमन्त्री शेख हसीनाको राजीनामाको माग गरेका छन्।
 

प्रतिक्रिया