काठमाडाैं– नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले प्रदान गर्ने ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ बाट डा. सुरेश आचार्य सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासङ्घका पुर्व सभापति डा. सुरेश आचार्य प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०८१ बाट सम्मानित भएका हुन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष आचार्य सम्मानित भएका हुन् ।
शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको मिडिया सम्मेलन पुरस्कार वितरण तथा सम्मान समारोहमा आचार्य लाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावतीले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गरे ।
उक्त सम्मान पुरस्कारको राशि ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्व सभापति रहेका आचार्य नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्याएकाे योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्व सभापति लवदेव ढुङ्गानालाई दोस्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो।
ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेबापत प्राप्त गरेको रु ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो । विसं २०६९ मा स्थापित पुरस्कार २०७२ सालदेखि प्रदान गरिँदै आएको छ । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले , डा महेन्द्र विष्ट र धर्मेन्द्र झा सम्मानित भइसकेका छन् ।
यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले प्रदान गर्ने
नगर विकास पत्रकारिता पुरस्कार नगद २५ हजार ,दोसल्ला र सम्मान पत्रबाट खविन लुइँटेल , हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार, नगद १० हजार ,दोसल्ला र सम्मानपत्र बाट रेडियो नेपाल पाँचथर रिपोर्टर दुर्गा खनाल , प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कार नगद १० हजार , दोसल्ला र प्रमाणपत्र बाट रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका समाचार सहायक सन्देश सुब्बा पुरस्कृत भएका छन् ।