‘समाचारमा गुणस्तर र ग्रामीण क्षेत्र केन्द्रित गर्न जोड’

राम्रो अनलाइन     ०५ जेठ २०८१, शनिबार
‘समाचारमा गुणस्तर र ग्रामीण क्षेत्र केन्द्रित गर्न जोड’


धुलिखेल– सञ्चार रजिस्ट्रारको कार्यालय वाग्मती प्रदेशले मङ्गलबारदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । 

बाग्मती प्रदेशमा क्रियाशील पत्रकारको क्षमता विकास गर्दै आधुनिक सञ्चार र प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रकारलाई समाजिक विषयमा केन्द्रित भएर पत्रकारिता गर्न आग्रह गर्दै सहरमुखी नभएर ग्रामीण परिवेशमुखी पत्रकारिता गर्न आवश्यक रहेको बताए। प्रादेशिक संरचनाले राष्ट्रिय आवश्यकताअनुसार काम गरिरहेको भन्दै सोही अनुसार अनलाइन र मोबाइल पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिए । 

विगत पाँच वर्षदेखि यस्ता विषयमा केन्द्रित भएर तालिम आयोजना गर्दै आएको सञ्चार रजिस्ट्रार सापकोटाले बताए । ‘यसरी गर्दै आएको काममा लेखनशैलीमा कमजोर रहेको पाइएको छ, पाठकलाई सही सन्देश दिन लेखन राम्रो हुनु पर्दछ’, उनले भने, ‘तालिममा लेखाइसम्बन्धी काम सिकाएका छौँ, त्यसलाई अझ विकास गर्न आवश्यक छ ।’ जिल्लामा बसेर गरेको पत्रकारिता प्रविधिको विकासका कारण विश्वव्यापीकरण हुने भएकाले लेखनशैलीमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

आगामी दिनमा प्राप्त ज्ञानलाई विकास गर्न अर्को तालिमको आयोजना गरिने बताउँदै पत्रकारलाई सिकेको कुरा व्यवहारमा देखिने गरी कार्यान्वयन गर्न सञ्चार रजिस्ट्रार रेवती आग्रह गरे । 

अनलाइन पत्रकारितामा उमेश श्रेष्ठ र प्रवेश सुवेदीले, विकास कार्की र रामु सापकोटाले मल्टिमिडिया तथा मोबाइल पत्रकारिताका विषयमा तालिममा सहजीकरण गरेको थियो । तालिममा प्रदेशमा क्रियाशील २२ जना पत्रकारको सहभागिता थियो ।
 

प्रतिक्रिया