श्रीलङ्काबाट उद्धार गरिएकामध्ये एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको नाम

राम्रो अनलाइन     ०२ जेठ २०८१, बुधबार
श्रीलङ्काबाट उद्धार गरिएकामध्ये एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको नाम

 

काठमाडौँ– माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड –१९ को बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छिन् । 

उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन् । कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएका हुन् ।

‘एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पुर्‍याएको नामसहित मुख खोल्नुभएको छ’, उनले भने, ‘प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।’

उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताए। जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाए । मङ्गलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उनले जानकारी दिए । 

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो । ‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्’, उनले भने, ‘कसरी रोक्ने हो? चिन्ताजनकस्थिति छ । न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।’
 

प्रतिक्रिया