काठमाडाैं– सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्काे बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो। सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो।
कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्याङ्क, विवरण र विश्लेषण गरी फलफूल विकास केन्द्र कीर्तिपुरले कृषि मन्त्रालयलाई पठाएको थियो। त्यसकै आधारमा विश्लेषण गरेर मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको हो।