भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ : उपप्रधानमन्त्री श्रेष्ठ 

राम्रो अनलाइन     १९ चैत २०८०, सोमबार
भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ : उपप्रधानमन्त्री श्रेष्ठ 


काठमाडौँ–उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ गएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ ।

प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर कम, बाहिर बसेर बढी काम गर्छन् । यो मेरो भ्रमण पनि अत्यन्तै उपलब्धिमुलक भएको छ ।’

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी० का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

यस भ्रमणले नेपाल र चीन बीचको आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री श्रेष्ठको विश्वास छ ।

उनका अनुसार नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छन् ।

मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरु सन्चालनमा आइसकेको र कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी पनि गराए ।

प्रतिक्रिया