सेलिब्रिटीका प्रिय रङ

राम्रो अनलाइन     ११ चैत २०८०, आइतबार
सेलिब्रिटीका प्रिय रङ

 
‘शुद्ध रङ हो सेतो’


कालिप्रसाद बास्कोटा,संगीतकार  

सेतो र कालो मलाई सबैभन्दा बढी मन पर्ने रङ हुन् । यी रङमा अरू रङको संयोजन पनि राम्रो देखिन्छ । सेतो शुद्ध रङ हो जस्तो लाग्छ । त्यसैले यी रङ मलाई विशेष लाग्छन् । मेरा धेरैजसो कपडा कालो र सेतो रङका छन् । कालो र सेतो रङमा सजिँदा आफूलाई ‘स्मार्ट’ महसुस गर्छु । 

‘रातोले ऊर्जा दिन्छ’

कोमल वली, गायिका

रातो र हरियो मेरा प्रिय रङ हुन् । भन्छन् नि, रातो राम्रो गुलियो मीठो । रातो रङले ऊर्जा दिन्छ । रातो प्रेमको रङ हो । चाडपर्वमा पनि हामी रातो रङलाई नै प्राथमिकता दिन्छौँ । यो सिर्जनशील र सकारात्मक रङ हो जस्तो लाग्छ । त्यसैले मलाई रातो रङ मन पर्छ । रातोसँग मिल्ने भएकाले हरियो रङ पनि मलाई मन पर्छ ।

‘बोल्ड हुन्छ बैजनी’ 

रेखा थापा, अभिनेत्री

सबै खाले रङका आ–आफ्नै विशेषता हुन्छन् । तर, बैजनी रङ मलाई विशेष लाग्छ । मेरो घरमा तन्ना, कार्पेट र पर्दा यसै रङका छन् । यो रङले मेरो मन छुन्छ । मलाई यो ‘बोल्ड’ खालको रङ लाग्छ । गुलाबी र हरियो रङले पनि मलाई आकर्षित गर्छन् । 

‘शीतल हुन्छ पहेँलो’ 

ऋचा शर्मा, अभिनेत्री

पहेँलो रङ मलाई असाध्यै मन पर्छ । मेरा धेरैजसो सामान पहेँलो रङका छन् । पहेँलो रङ आफैँमा सुन्दर र शीतल हुन्छ । पहेँलो रङका ड्रेसमा आफू सुन्दर देखिन्छु जस्तो लाग्छ । तोरी फुल्ने सिजन मलाई एकदमै मन पर्छ । तोरीको फूलबाट निकै मोहित हुन्छु । त्यो हेर्दा प्रकृतिले खेतबारीमा कार्पेट ओछ्याइदिए जस्तो लाग्छ ।


‘उज्यालो हुन्छ नीलो’

नीता ढुंगाना, अभिनेत्री

नीलो मेरो मन पर्ने रङ हो । यो रङ उज्यालो हुने भएकाले मलाई मन पर्छ । विशेष गरी यो रङले मलाई ‘पोजेटिभ भाइब्स’ दिन्छ । नीलो रङ मलाई सुहाउँछ । मेरा ब्याग, लुुगा र मेकअपमा आइस्याडोको सेटसमेत नीलो रङका छन् । सेतो र हरियो रङ पनि मलाई मन पर्छन् । 

‘रातोले उमंग ल्याउँछ’

सरिता लामिछाने, अभिनेत्री

म रङको पारखी हुँ । नीलो र रातो रङ मलाई एकदमै मन पर्छन् । मेरो घरको रङ, तन्ना, पर्दा र दराज सबै नीला रङका छन् । लुगा चाहिँ प्रायः रातो रङको किन्छु । रातो रङले हरेकको जीवनमा उमंग ल्याउँछ भन्ने लाग्छ । कालो पनि मलाई मन पर्ने रङ हो । 

‘प्रकृति जस्तै हरियो’ 

पल शाह, अभिनेता 

हरियो मलाई मन पर्ने रङ हो । यो प्राकृतिक रङ भएकाले पनि मलाई मन परेको हो । गाढाभन्दा फिक्का हरियो रङ मन पर्छ । हरियोमा जुनसुकै रङ पनि मिलेको जस्तो लाग्छ । हरियो देख्नेबित्तिकै मेरो आँखा त्यतैतिर गइहाल्छ । मेरा धेरैजसो ज्याकेट, आउटर र टिसर्ट फिका हरियो रङका छन् । मेरो वार्डरोब हरियो रङले भरिएको छ । 

‘पहेँलो चम्किलो हुन्छ’ 


नम्रता सापकोटा, अभिनेत्री

मलाई फिकाभन्दा चम्किला रङ मन पर्छन् । पहेँलो रङ असाध्यै मन पर्छ । यो रङ एकदमै उज्यालो लाग्छ । मैले लगाउने सारी, कुर्तालगायत पहिरन पहेँलो रङका बढी छन् । पहेँलो रङ मलाई सुहाउँछ जस्तो लाग्छ ।

‘रातोले आनन्द दिन्छ’ 


शिल्पा पोखरेल, अभिनेत्री

मेरो प्रिय रङ रातो हो । रातो सबैको आँखा पर्ने रङ हो । रातो रङ देख्नेबित्तिकै मलाई रमाइलो र आनन्दको अनुभूति हुन्छ । मलाई धेरैले ‘तिमीलाई रातो रङ सुहाउँछ’ पनि भन्ने गरेका छन् । त्यसैले पनि रातो रङका लुगा मसँग धेरै छन् । 

‘शान्त सेतो’ 

रीमा विश्वकर्मा, अभिनेत्री

मलाई झिलिमिलीभन्दा फिका खाले रङ मन पर्छन् । सेतो मेरो मन पर्ने रङ हो । सेतो रङका पहिरन मसँग धेरै छन् । मेरो वार्डरोब सेतो रङका पहिरनले भरिएको छ । सेतो रङ देख्दा शान्त महसुस गर्छु ।

 

प्रतिक्रिया