बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुदैन : सांसद ज्वाला

राम्रो अनलाइन     ०७ चैत २०८०, बुधबार
बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुदैन : सांसद ज्वाला


काठमाडौँ–प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थमन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राखेका छन्। 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलका क्रममा उनले बजेट जनतामा उत्साह भर्न सक्ने, अर्थतन्त्रलाई माथि उठाउने, मुलुकको समृद्धि गर्ने खालको र वर्तमान चूनौतीलाई सामना गर्ने खालको हुनुपर्नेमा जोड दिए।

बजेट निर्माण प्रक्रिया पारदर्शी हुनपर्ने, ब्यापक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘बजेट निर्माण प्रक्रियामा सांसदहरुलाई विश्वास गर्नुस, योजना निर्माणमा पनि सांसदका सुझावलाई ग्रहण गर्नुस ।’

उनको बजेटमा अर्थमन्त्रालयको नियन्त्रण हुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको र जनताको आवश्यकताका आधारमा बजेटको प्राथमिकता गरी नयाँ आयोजना छनोट गर्दा उत्पादकत्व, जनतालाई लाभ दिने खालको हुनुपर्ने भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले मुलुकको आर्थिक अवस्था माथि उठने र मुलुकको विकास हुने खालको बजेट ल्याउनुपर्ने सुझाव दिए ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मधेस–प्रदेश विकासमा पछाडि परेको हुँदा सरकारले विशेष विकासको प्याकेज दिनुपर्ने माग गरे। उनले वीरगञ्जमा बन्द रहेको चिनी कारखाना सञ्चालन गर्नुपर्ने, कृषि औजार कारखानालाई अगाडि बढाउनुपर्ने, जनकपुर चुरोट कारखाना चलाउन सरकारको योजनाका बारेमा बजेटले ध्यान दिनुपर्ने  सुझाव दिए।

सांसद यादवले मधेसमा रासायनिक मलका कारण धेरै ठूलो समस्या देखिएकाले रोक्नुपर्नेमा जोड दिँदै गरिब र धनी छुट्टयाएर सामाजिक सुरक्षाभक्ता वितरण गर्नुपर्ने उल्लेख गरे। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गरेर अघि बढाउनुपर्ने सुझाव दिए।

आमजनता पार्टीका सांसद प्रभु साहले देशलाई आर्थिक क्षेत्रबाट बलियो बनाउनेभन्दा पनि देशको पैसा विभिन्न बहानामा विदेश पठाउनबाट रोक्नुपर्नेमा जोड दिए। 

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले देशलाई प्रतिफल दिने खालको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने र युवा र पुँजी पलायनलाई रोक्नुपर्ने सुझाव दिए।

स्वतन्त्र सांसद योगेन्द्रकुमार मण्डलले दातृ निकायसँगको सम्झौताअनुरुपको रकम लिएर स्पष्टरुपमा खर्च गर्नुपर्ने सुझाव दिँदै गरिबी निवारण गर्ने खालको योजना ल्याउनुपर्ने सुझाव दिए।

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले वितरणमुखी बजेट नभइ काम गर्न सकिने खालको बजेट ल्याउनुपर्ने र आफूसँग भएको स्रोत र साधानको निर्यात गर्नुपर्नेमा सुझाव दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले फलाम उद्योग, सिमेन्ट उद्योगलगायतका उद्योग सञ्चालन गर्नुपर्ने र निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले जस्ले उद्यम गर्छ, उसले अनुदान पाउँछ भन्ने खालका कार्यक्रम ल्याउनुपर्ने र सवारी दुर्घटना रोक्नेजस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गतवर्ष तय गरेका बजेटका प्राथमिकताले कति योजना सफल भयो भन्ने विषयमा समीक्षा गर्दै आगामी बजेट बनाउनुपर्ने सुझाव दिए।

जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले युवाहरुलाई स्वदेशमा रोजगारी दिने खालको बजेट ल्याउनुपर्ने सुझाव दिइन्। 

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रत्येक सदरमुकाम र स्थानीय तहसम्म पक्की सडक बनाउने गरी बजेट विनियोजन गर्न माग गर्दै प्रत्येक पालिकामा अस्पतालको परिकल्पना गरेको हुँदा आवश्यक बजेटको व्यवस्था गर्न माग गरे।

सदनमा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी छ ।

प्रतिक्रिया