स्वदेशी महले पाएन बजार

राम्रो अनलाइन     २३ फागुन २०८०, बुधबार
स्वदेशी महले पाएन बजार

चितवन–  जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गत आवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन् । उनले भने, 'बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ ।' कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उनले जानकारी दिए ।

चरनको अभाव र बिदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए । उनले भने, 'बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।' विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ ।

'किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो,' उनले भने, 'विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।' नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको उनले बताए ।

गत वर्षको एक हजार पाँच सय मेट्रिक टन मह अझै बिक्री हुन नसकेको उनले गुनासो गरे । उनले भने, 'गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटामुनि मह राख्नुपरेको छ ।' आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने उनले बताए । खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ । ब्राण्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेको उनको भनाइ छ । आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले गुनासो गरे ।

मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको उनले जानकारी दिए । महासङ्घले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेको बताए । उनले भने,'किसानले मह पोख्ने र मौरी उडाउने कार्यक्रम गर्न दबाब दिइरहेका छन् । तर हामी चरणबद्धरूपमा अघि बढ्ने योजनामा छौँ ।' नेपालमा दुई जातका मौरी पालिँदै आइएको छ । एक लाख ६० हजार घार मेरीफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया