प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट : एपीएफको जित सुरुवात

राम्रो अनलाइन     ०३ माघ २०७७, शनिबार
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट : एपीएफको जित सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल क्लब (एपीएफ) ले जित सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा प्रदेश १ लाई १३५ रनले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले टस हारेर पहिलो ब्याटिङ गरेको थियो । उसले ४८.४ ओभर खेल्दै २४३ रन बनाएको थियो । एपीएफले दिएको २४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ १०८ रनमै अलआउट हुन पुग्यो ।

प्रदेश १ का लागि कुनै पनि ब्याट्स्म्यानले राम्रो स्कोर बनाउन सकेनन् । उसका लागि मिनास थापाले सर्वाधिक १८ रन जोडे । त्यस्तै फिर्दोस अन्सारीले १७ रन बनाउँदा दीपेश कँडेलले १६ रन जोडे ।

एपीएफलाई जिताउन अबिनाश बोहराले धारिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दा ६ मेडन राखेर ५ विकेट हात पारे । त्यस्तै बसन्त रेग्मीले २ विकेट लिए । उनले ३ मेडन ओभर बलिङ गरे । यसैगरी किशोर महतो र कप्तान शरद भेषावकरको नाममा पनि १÷१ विकेट रह्यो ।

यसअघि ब्याटिङ गरेको एपीएफका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे । आक्रामक ब्याटिङ गरेका उनले ३२ बलको सामना गर्दै ५९ रन बनाए । उनको अर्धशतकमा ५ छक्का र ६ चौका सामेल थिए । त्यस्तै बसन्त रेग्मीले ४० तथा सन्दीप जोराले ३० रन बनाए ।

प्रदेश १ का लागि फिर्दोस अन्सार र दीपेश कँडेलले २÷२ विकेट लिए । त्यस्तै हेमन्त राई तथा सरवन यादवको नाममा पनि समान २÷२ विकेट रह्यो ।

एपीएफले अर्को खेल गण्डकी प्रदेशका विरुद्ध बिहीबार खेल्नेछ भने प्रदेश १ ले सोमबार गण्डकी प्रदेशको सामना गर्नेछ ।
 

प्रतिक्रिया