जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राम्रो अनलाइन     २७ पुस २०८०, शुक्रबार
जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


भक्तपुर–स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकस्थित खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सकिने बताए। 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिम्न्याष्टिक सङ्घका केन्द्रीय सदस्य बचन देउजा, प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्यलगायतले खेलकुदको विकासका लागि राज्यले खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले जिल्लाका चारवटा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता र उपविजेता टोली तथा छनोट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीको प्रतियोगितामा प्रतिस्पर्धी रहेको बताए।

उनले भलिबल, कबड्डी, उसु, कराते, तेक्वान्दो र एथलेस्टिक गरी छवटा खेलमा सात सय ५२ खेलाडी प्रतिस्पर्धामा रहेको बताए । यही पुस २९ गते हुने समापन कार्यक्रममा विजेतालाई रनिङ शिल्ड तथा अन्य उपविजेता, प्रथम, द्वितीय तथा तृतीय र उत्कृष्ट खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताए।

प्रतिक्रिया