इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु

राम्रो अनलाइन     २२ पुस २०८०, आइतबार
इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु

इजराइल– इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । 

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् । 

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख छन् र हालैको एक आक्रमणमा  उनी पनि घाइते भएका छन् । युद्धको सुरुआती साताहरूमा एउटा छुट्टै इजराइली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए । थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेका थिए ।

न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टिनी, चार इजराइली र तीन लेबनानी रहेका छन् । 
 

प्रतिक्रिया