गण्डकी– कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन्। ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ ।
स्थानीय कृस्ती नाच्नेचौरका सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएको छ । पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउँछन् ।
सुन्तला कृषक सुवेदीले भने ‘विगतमा एकाध बोटमा ध्वाँसे रोग देखिए पनि खासै असर गर्दैनथ्यो तर यसपटक भने एकाएक सुन्तला बगैँचा नै कालम्मे भई बोटबिरुवा बढ्नेक्रम रोकिएको छ । अब के फल लाग्ला अनि कति खान र बेच्न पाइएल?’ सुन्तला बिक्रीबाट परिवार पाली बर्सेनि केही रकम जोहो गर्दै आएका कास्कीको काफलबोटे र कृस्ती नाच्नेचौरसहित आसपालका किसानलाई ध्वाँसे रोगको प्रकोपबाट गाउँठाउँ छोड्नपर्ने अवस्था सिर्जना भएको स्थानीय किसान बताउँछन् ।