अर्थमन्त्रीसमक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

राम्रो अनलाइन     ०३ वैशाख २०८३, बिहिबार
अर्थमन्त्रीसमक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उद्योगीरव्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ ।

महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्‍याउन तीन प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग आग्रह गरेको हो । भन्सार नाकामा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्या समाधान गरी आयात–निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको पनि महासंघले जनाएको छ ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताए । उनका अनुसार, अहिले व्यापाररव्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपि, नयाँ सरकार बनेपछि व्यवसायीमा एउटा आशाको किरण भने जागेको छ । 

‘समग्रमा अहिले व्यापार–व्यवसायको अवस्था एकदमै नाजुक छ । अहिले नै व्यवसाय ह्वात्तै उक्सिने स्थिति नभए पनि हामी एउटा परिवर्तनको मोडमा छौँ,’ उनले भने, ‘यद्यपि, व्यवसायीमा एउटा आशाको किरण भने पलाएको छ ।’

अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ । कटुवालका अनुसार, देशभरका व्यवसायीलाई खड्किएको एमआरपीको विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ । 

हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुमा उपभोक्तालाई सहज हुने गरी कसरी एमआरपी व्यवस्थापन गर्ने विषयमा पनि महासंघले सुझाव दिएको कटुवालले जानकारी दिए । उनका अनुसार, महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागु गर्न अर्थमन्त्रीलाई भनेको छ ।  

पञ्चायतकालदेखि नै केही सीमित संगठनको मात्रै अर्थतन्त्रसम्बन्धी सुझाव समितिमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरेको छ । यस विषयमा अर्थमन्त्रीले अब त्यस्तो नहुने र सबैलाई सहभागी गराइने प्रतिक्रिया दिएका कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार, अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिएका छन् । 

प्रतिक्रिया