सबै भन्दा धेरै एनजी गणितमा, नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार

राम्रो अनलाइन     १३ असार २०८१, बिहिबार
सबै भन्दा धेरै एनजी गणितमा, नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार

 
भक्तपुर–
कक्षा १० को अन्तिम परीक्षा एसईईमा सबै भन्दा धेरै विद्यार्थीको गणितमा एनजी आएको छ । गणितमा एनजी आउने विद्यार्थीको संख्या एक लाख ७७ हजार नौ सय ८५ छ । यस्तै सबै भन्दा धेरै एनजी आउने दोश्रो विषय विज्ञान हो । विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

यसैगरी अँग्रेजीमा एनजी आउने विद्यार्थीको संख्या एक लाख एक हजार तीन सय ८३ रहेको छ ।  सामाजिकमा ७३ हजार आठ सय ७७ विद्यार्थीको एनजी आएको छ । नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार पाँच सय ३२ रहेको छ । अर्थशास्त्रमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार चार सय १६ छ । ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । 

नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी आएको छ । अर्थात् उक्त संख्याका विद्यार्थी नन् ग्रेडेड भएका छन् । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ । 

यसपालि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो । २०७२ देखि १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धी ग्रेडिङ प्रणालीबाट हुन थालेको हो । 

कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी हुनेछ । कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् । 

प्रतिक्रिया