प्रधानमन्त्री दम्पतीले पूजा गरेर अयोध्यापुरी पठाए राम-सीताका मूर्ति

राम्रो अनलाइन     ०७ वैशाख २०७८, मङ्गलबार
प्रधानमन्त्री दम्पतीले पूजा गरेर अयोध्यापुरी पठाए राम-सीताका मूर्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहान बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेका छन् । चितवनमा लगेर राखिने ती मूर्तिलाई चैते दशै अर्थात चैते अष्टमीको दिन पारेर पूजा गरेर चितवन पठाइएको हो । 

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गर्न प्रधानमन्त्रीले गत वर्ष नै निर्देशन दिएका थिए । त्यसको विरोधसमेत भएको थियो । अहिले त्यही मूर्ति राख्न कालिगढले बनाएका मूर्तिमा ओली दम्पतीमाले आज पूजा गरेर चितवन पठाएका हुन् । 

तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको छ ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन् । अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन् । तर उनी निकट स्रोतहरूले भने त्यो होइन भन्छन् । 

मूर्ति चितवन पठाउन हस्तान्तरण गर्नुअघि आज बिहान बालुवाटारमा पूजाआजा गरिएको हो । पूजाआजामा प्रधानमन्त्रीको सचिवालयका र एमाले नेताहरू उपस्थित रहेको निकट स्रोतले बतायो ।

प्रतिक्रिया