नवलपरासी–नारायणी नदीमा आएको बाढी बस्तीमा पसेको छ । केही दिनदेखि अविरल परेको वर्षापछि नदीमा आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।
नदीमा आएको बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक घर डुबानमा परेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । नदीबाट यहाँका करिब चारजना प्रभावित भएका भन्दै उनीहरुलाई सुरक्षित स्थानमा राखिएको सापकोटको भनाइ छ । ‘यहाँ बर्सेनि बाढी पसेर क्षति पु¥याउने गरेको छ’ उनाँले भने, ‘बाढीबाट प्रभावितहरु छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।’
बाढी प्रभावितहरुलाई खानाको लागि आफूले समन्वय गरेको भन्दै उनीहरुलाई स्थानीय क्याटरिङ व्यवासयीसँगैका सहकार्यमा खाना खुवाउने तयारी गरेको सापकोटाले बताए । ‘नदीमा आएको बाढी बर्सेनि बस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेको छ, यसको समाधानका लागि केन्द्रीय बजेट आवश्यक पर्छ’ उहाँले भने, ‘पारि भरतपुरमा त्यति राम्रोसँग व्यवस्थापन गरिएको छ । तर, हाम्रो गैँडाकोटमा भने सामान्य बाढी आउँदा पनि स्थानीय प्रभावित हुने गरेका छन् ।’
यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रकाअनुसार नदीमा पानीको सतह ९ दशमलब ८४ मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतरा मान्छि ।
नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । नदीको बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नम्बर २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नम्बर २, ३ नदीमा आउने बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।