यसवर्षको मुम्बई फिल्म फेस्टिभल सुरु भएको छ । मुम्बईस्थित नीता अम्बानी कल्चरल सेन्टरमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा चर्चित बलिउड सेलिव्रिटीले रेडकार्पेट नापे ।
कोरोना महामारीपछि पहिलोपटक भौतिकरुपमा आयोजना गरिएको यो फेस्टिभल नोभेम्बर ५ सम्म चल्नेछ । दश दिनसम्म हुने फेस्टिभलमा ७० भाषाका २५० फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

जियो मामी समेत भनिने फेस्टिभल अध्यक्ष प्रियंका चोपडा जोनसले मास्टर सेरेमोनी प्रस्तुत गरेसँगै महोत्सव सुरु भयो । दिग्गज फिल्म निर्देशक मणिरत्नम र लुका गुआडाग्निनोलाई एक्सलेन्स इन सिनेमा अवार्डबाट सम्मानित गर्दै फेस्टिभल सुरु भएको थियो । कमल हसन र प्रियंकाले उनीहरुलाई पुरस्कार प्रदान गरे ।
महोत्सवमा प्रदर्शन हुने नेपाली चलचित्र
महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर स् द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।
छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो ।
महोत्सवमा सहभागी हुन पुगेकी निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘प्रतिस्पर्धामा सहभागी चलचित्रकर्मीहरूसँग ज्ञान र अनुभव साट्नुका साथै यहाँका चलचित्र हेर्न र आफ्नो चलचित्रका बारेमा आउने प्रतिक्रियाका निमित्त तयार रहेको छु ।’
नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।


