कुन कुन नेताको नेतृत्वमा कहाँ कहाँबाट निस्कँदै छ जुलुस ? 

राम्रो अनलाइन     ०९ माघ २०७७, शुक्रबार
कुन कुन नेताको नेतृत्वमा कहाँ कहाँबाट निस्कँदै छ जुलुस ? 

काठमाडौँ, ९ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन गरेको. प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौँ शक्ति प्रदर्शन गर्दै छ । एक लाख जनता सडकमा उतार्ने दाबी गरिएको छ । काठमाडौँ र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निस्कँदै छ । 

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने छन् ।

माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् ।

लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् ।

वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ ९प्रकाश० ले जानकारी दिए ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया