इन्धनको मूल्यवृद्धिले कर्णालीको निर्माण क्षेत्र संकटमा : बम

राम्रो अनलाइन     १४ वैशाख २०८३, सोमबार
इन्धनको मूल्यवृद्धिले कर्णालीको निर्माण क्षेत्र संकटमा : बम

सुर्खेत – मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण विश्वव्यापी इन्धन आपूर्ति प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ । कर्णाली प्रदेश निर्माण व्यवसायी संघका महासचिव मानव बमले इन्धनमा भएको निरन्तर मूल्यवृद्धिले यहाँ निर्माण क्षेत्र संकटमा परेको बताएका छन् । 

विश्वबजारमा इन्धन आपूर्ति अवरुद्ध भएकाले यसले नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गराएको र त्यसको असर कर्णालीको विकास निर्माणमा पनि परेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘इन्धन मूल्यवृद्धिको प्रभाव सुरुमा दैनिक उपभोग्य वस्तुमा देखिए पनि अहिले निर्माण क्षेत्रसम्म फैलिएको छ,’ महासचिव बमले भनेका छन्, ‘डिजेल, पेट्रोल, बिटुमिन, सिमेन्ट र डन्डीजस्ता निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि कर्णालीका निर्माण आयोजनाहरू प्रभावित भएका छन् ।’

चौतर्फी मूल्यवृद्धिका कारण निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको उनले जनाएका छन् । बजारमा निर्माण सामग्री समेत अभाव हुन थालेको र लागत अत्यधिक बढ्दा व्यवसायी आर्थिक संकटमा परेको उनको भनाइ छ ।

मूल्यवृद्धिका कारण निर्माण कार्य रोकिँदा धेरै श्रमिक प्रत्यक्ष प्रभावित भएका भन्दै उनले हालको अवस्थामा निर्धारित समयमा आयोजना सम्पन्न गर्न असम्भव रहेको बताएका छन् । 

सरकारसँग संघले तत्काल मूल्य समायोजन निर्देशिका लागु, सबै ठेक्काको म्याद थप र बैंक ग्यारेन्टी तथा बिमासम्बन्धी समस्या समाधान गर्न माग गरेको छ । 

प्रतिक्रिया