अग्नि सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ सकियो, असार १२ मा निर्णय  

राम्रो अनलाइन     २४ जेठ २०८१, बिहिबार
अग्नि सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ सकियो, असार १२ मा निर्णय  


काठमाडौँ–  सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा आज ९बुधबार० सुनुवाइ सकिएपछि आगामी असार १२ गते निर्णय सुनाउने मिति तय गरिएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले मुद्दाको अन्तिम सुनुवाइ सकिएको र आगामी असार १२ गतेका लागि निर्णय सुनाउने मिति तय भएको जानकारी दिए।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो। उक्त घटनाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो।

उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेको अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो।

प्रतिक्रिया