‘सङ्कल्प यात्रा सफल’

राम्रो अनलाइन     ०२ पुस २०८०, सोमबार
‘सङ्कल्प यात्रा सफल’


झापा–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन् । प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताए।

‘यो यात्रा कसैका विरुद्ध थिएन,’ उनले भने, ‘आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन् । तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ ।’

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र सुझाव लिने एमालेको लक्ष्य पूरा भएको जनाउँदै उनले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गरे।

रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उनले बताए।

सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उनको भनाइ थियो । उनले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिए।
 

प्रतिक्रिया