मारवाडी समूह सामान्यतया व्यापार–व्यवसायमा लागेको हुन्छ । अझ भनूँ–मारवाडीको रगतमै व्यवसाय दौडिरहेको हुन्छ । मारवाडीलाई लक्ष्मीपुत्र भनिन्छ । हामी लक्ष्मीलाई आमालाई जस्तै सम्मान र प्रेम गर्छाैं ।
लक्ष्मीलाई ‘निट एन्ड क्लिन’ चाहिन्छ । लक्ष्मीपूजाको दिन हामी घर, अफिस रंगरोगन र सरसफाइ गरेर चिटिक्क पार्छौं । म जनकपुरमा बस्छु । यता दीपावली खूब रमाइलोसँग मनाइन्छ । सडकमा दायाँबायाँ केराको थाम लगाइन्छ, माटोको दियोमा तेल हालेर बालिन्छ ।
पण्डित बोलाएर धुमधामसँग लक्ष्मीपूजा गरिन्छ । लक्ष्मीको उपासक कहिल्यै रिसाउँदैन, मृदुभाषी हुन्छ । कलह र झगडा हुने घरमा लक्ष्मीको बास हुँदैन भन्छन् । हामी तिहारको पहिलो दिन धनतेरस मनाउँछौँ । त्यस दिन सुन–चाँदी किनेर घरमा ल्याउँछौँ । नसक्नेले भाडाबर्तन भित्र्याउँछ । धनतेरसमा केही सामान भित्र्याउनुपर्छ भन्ने मान्यता छ । लक्ष्मीपूजाका दिन राम्रो र नयाँ लुगा लगाउने गरिन्छ । खातापाता पनि नयाँ हाल्छौँ । नयाँ र पुराना खाता राखेर पूजा गर्छौं ।