लक्ष्मी उपासकका लक्ष्मीपूजा : ‘मनमुटाव मेट्ने दिन हो यो’

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
लक्ष्मी उपासकका लक्ष्मीपूजा : ‘मनमुटाव मेट्ने दिन हो यो’

नेपालमा मारवाडीहरू राजस्थानबाट आएका हुन् । राजस्थानमा व्यापार–व्यवसाय गर्ने विशेष जाति वैश्य अर्थात् मारवाडी हुन् । क्षत्रीले शक्तिको पूजा गर्छन् भने वैश्यले लक्ष्मीको पूजाआजा गर्छन् । 

लक्ष्मीपूजाका दिन हिसाबकिताब तथा खातापाता मिलाउने काम गरिन्छ । मारवाडी समुदायको आर्थिक वर्षको अन्त्य लक्ष्मीपूजाकै दिन हुने गर्छ । सरकारी कामकाजको आर्थिक वर्ष असार मसान्तमा हुन थालेपछि मात्र लक्ष्मीपूजामा हुने हरहिसाब हुन छाडेको हो । होइन भने यही दिन हरहिसाब ‘क्लोज’ गर्ने र लक्ष्मीपूजाको भोलिपल्टबाट नयाँ सुरुवात गर्ने गरिन्थ्यो । 

लक्ष्मीपूजाको दुई दिनअघि धनतेरसको दिन काँसको सामान किनेर घरमा ल्याउनुपर्ने चलन छ । घर, अफिस तथा औद्योगिक प्रतिष्ठानमा एकसाथ लक्ष्मीको पूजा हुन्छ । लक्ष्मीपूजापछि आफूभन्दा ठूलासँग आशीर्वाद लिने र व्यपारका सिलसिलामा भएका मनमुटाव एकापसमा भेटघाट गरेर मेटाउने काम गरिन्छ । यो मनमुटाव मेटाउने दिन पनि हो । 

लक्ष्मीपूजाका लागि धेरै खर्च गर्नुपर्छ भन्ने हुँदैन । लक्ष्मीपूजा परिवारका सदस्य बसेर गरिने पारिवारिक अनुष्ठान भएकाले यसमा देखासिकी गर्ने कुरै आउँदैन । पहिला दशैँ सकिनासाथ लक्ष्मीपूजाको रौनक सुरु हुन्थ्यो । तर, अहिले लक्ष्मीपूजाको दिन मात्र केही मात्रामा रौनक हुन्छ । लक्ष्मीपूजाको रौनक पनि घट्दै गइरहेको छ । ‘पूजा गरेर के हुन्छ ? पूजा गरेर पैसा आउँछ ?’ भन्ने नयाँ पुस्ताका कारण पनि यसको रौनक घट्दै गइरहेको छ । पूजा गरेर मात्रै पैसा आउने त होइन । तर, भगवान् छन् र उनले हामीलाई हेरिरहेका छन् भन्ने विश्वास लिँदा नराम्रो काम गर्नबाट जोगिन सकिन्छ । 
 

प्रतिक्रिया