मेरो पुख्र्याैली घर विराटनगर हो । विराटनगरमा लक्ष्मीपूजा निकै धुमधामसँग गरिन्छ । औद्योगिक नगर भएकाले पनि विराटनगरको लक्ष्मीपूजा हेर्नलायक हुन्छ । म सानो छँदा विराटनगरमा लक्ष्मीपूजाको जुन रौनक हुन्थ्यो, त्यो अहिले घटेको छ । उहिलेको लक्ष्मीपूजा साह्रै रमाइलो हुन्थ्यो ।
म काठमाडौँमै हुर्केबढेको हुँ । तर, हरेक लक्ष्मीपूजामा विराटनगर जाने गर्थें । हाम्रो घरमा लक्ष्मीको पूजा विशेष हुने भएकाले छिमेकीहरू पनि आउने गर्थे । विराटनगरमा हरेक पसल तथा घरअगाडि केराको बोट राखेर, फूलले झकिझकाउ सजाएर लक्ष्मीपूजा गर्ने चलन छ । घरको मूली बुवाले लक्ष्मीपूजा गर्नुहुन्थ्यो । लक्ष्मीपूजापछि घरमूलीले घरका सबै सदस्यलाई उपहार दिने चलन छ । लक्ष्मीपूजा पछि तास खेल्ने चलन छ । बुवाको सेखपछि घरमा आमाले लक्ष्मीपूजा गर्नुहुन्छ भने अफिस तथा औद्योगिक प्रतिष्ठानमा त्यहाँका कर्मचारीले लक्ष्मीपूजा गर्छन् ।