काठमाडौँ–नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर मुलुक सामु देखापरेका सबैखाले चुनौतीको सामना गर्ने सामथ्र्यका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। वडा दसैँ, शुभ–दीपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ६ काठमाडौँको आयोजना तथा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठको संयोजनमा भएको ‘एकता आजको आवश्यकता–राजनीतिक उपलब्धि र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै नेताहरुले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने राष्ट्रिय दायित्व पनि कांग्रेसको भएको बताएका हुन्।

साथै, उनीहरुले प्रजातान्त्रिक पार्टी कांग्रेसभित्रको आन्तरिक प्रजातन्त्रलाई सुदृढ बनाएर पार्टीलाई गाउँदेखि सहरसम्म एकताको सन्देश प्रवाह गर्न पनि नेतृत्वगणलाई आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकको राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर सिङ्गो पार्टीलाई एकताबद्ध बनाई जनताको परिवर्तनको चाहना अनुरुप विकास र समृद्धिको दिशामा सक्रिय भूमिका निर्वाह गर्न पार्टी पंक्ति प्रतिबद्धताका साथअघि बढ्नुपर्ने खाँचो औँल्याए।
प्रजातान्त्रिक मूल्य र मान्यताको बीजारोपण मात्रै होइन सो प्राप्तिका लागि सङ्घर्ष गरेको तथा नेपालको राष्ट्रिय राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेसलाई भावनात्मक एकताबद्ध भएर जनआकांक्षाअनुरुप काम गर्र्नुपर्ने धारणा उनले राखे । ‘नेपालको राजनीतिक परिवर्तनमा लामो त्याग र सङ्घर्ष गरेको कांग्रेसलाई मुलुकमा अहिले देखिएका सबैखाले चुनौतीलाई सामना गर्दै पार्टीलाई एकताबद्ध गरेर आर्थिक समृद्धिको यात्रामा सक्रिय हुनुपर्ने आवश्यकता छ, कांग्रेसको लक्ष्य अझै सफल भएको छैन, त्यसका निम्ति संविधानमा व्यवस्था भएको जनहितका कामलाई व्यावहारिक रुपमा अघि बढाउन जरुरी छ’, नेता सिंहले भने।
पार्टीका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताउँदै सबै राजनीतिक दललाई एकताको सूत्रमा बाँधेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको बताए।
उनले भने, ‘सामाजिक सद्भाव कायम गर्दै राष्ट्रलाई एकताबद्ध बनाउने जिम्मेवारी कांग्रेसमा रहेको छ, त्यसका लागि पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर लैजानुपर्छ ।’
नेता सिटौलाले संविधानको पूर्ण कार्यान्वयन, अर्थतन्त्रको सबलीकरणका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सङ्घीय, प्रदेश रस्थानीय सरकारको अहिले नै मूल्याङ्कन गर्ने अवस्था नरहेको तर संविधानले सङ्कल्पगरेको जनताको अधिकारको लागि सचेत गराउनु अपरिहार्य भएको उल्लेख गरे।
कांग्रेसका अर्का पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले मुलुकको राजनीतिमा महत्वपूर्ण योगदान गरेको पार्टीलाई एकताबद्ध गर्दै राजनीतिक उपलब्धि संस्थागत गर्न थप जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औँल्याए । ‘हामी एकजुट भयौँ भने कसैले पनि चलाउन सक्दैन’, उनले भने, ‘कांग्रेसभित्र भएका कमजोरीलाई सुधार गरी मुलुकसामु देखापरेका राजनीतिक, आर्थिक, सामाजिक चुनौतीको सामना गर्न पार्टीले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति एवं कांग्रेस नेतृ डा आरजु राणाले पार्टीलाई एकताबद्ध गर्दै सिद्धान्त र विचारलाई जनतासमक्ष लैजान सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । उनले मुलुकमा सुशासन प्रवर्द्धन, कृषिको आधुनिकीकरण गर्दै रोजगारी सिर्जना गर्नेतर्फ पार्टीले पहलकदमी गर्नुपर्ने धारणा राखिन्।

कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले कांग्रेस एकजुट भएर राजनीतिक उपलब्धि संस्थागत गर्न र मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढ्न पार्टी थप जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेता भीमसेनदास प्रधान, कांग्रेस काठमाडौँ सभापति सबुजकृष्ण बानियाँलगायतले देशभर पार्टीलाई एकताको सन्देश प्रवाह गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य, सांसद एवं विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।