काठमाडौं–नेपाली कांग्रेसले कोशी प्रदेशमा फेरि पार्टीकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा कोशी सरकारबारे छलफल भएको थियो।
छलफलमा सभापति देउवाले पुनस् कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका हुन्। ‘अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोज्न पहल गर्नुपर्छ,’ देउवाले भने।
कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन जमर्कोमा कांग्रेस छ। यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशीमा पार्टीले के गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो। सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने तयारी गरेका छन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुखले समय दिएका हुन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक र एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन्। बहुमत पुर्याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कोशीमा पार्टीकै नेतृत्वमा गठबन्धन सरकार बनाउने पहल भइरहेको बताए।
‘आजको पदाधिकारी बैठकमा कोशीमा सरकार गठनका विषयमा पनि छलफल भएको छ। कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनाउन पहल गर्ने कुरा भएको हो,’ उनले सेतोपाटीसँग भने।
साथै पदाधिकारी बैठकमा इजरायल घटनाबारे पनि छलफल भएको छ। ‘इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्र मन्त्री एनपी साउदले जानकारी गराउनुभयो,’ उनले भने। हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। संसदमा दर्ता भएका विभिन्न विधेयकबारे पनि पदाधिकारी बैठकमा छलफल भएको थियो।