९ दिन ८ रात चल्ने बिस्काः जात्रा शनिबारबाट

जात्रामा कतिबेला के गरिन्छ (तालिकासहित)
राम्रो अनलाइन     २८ चैत २०७७, शनिबार
९ दिन ८ रात चल्ने बिस्काः जात्रा शनिबारबाट

काठमाडौं । भक्तपुरमा ९ दिन ८ रातसम्म चल्ने बिस्काः  जात्रा आजबाट शुरु हुँदैछ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।

यसवर्ष दिउँसो २ बजे तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ ।

बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ बजेदेखि ९ः३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ः३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने निर्णय भएको छ । 

बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गङ्गालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने, १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने, ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूले श्रीको पूजा शुरु गर्ने कार्यक्रम छ ।  

१२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने, १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्याय दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने र १२ देखि १ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने तयारी गरिएको छ ।

भैल ख तान्न १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई २ बजेदेखि भैरवनाथको रथ तान्न शुरु गर्ने गरी ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पु¥याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गस्हिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल ख टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया