राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

राम्रो अनलाइन     ०७ असार २०८०, बिहिबार
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने


काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भने, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको नयाँ सफल पार्टीका रुपमा लिएका छौँ।’

सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर जनताको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताए । ‘उपनिर्वाचनसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो’, उनले भने, ‘सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रुपान्तरण गर्न सक्नेगरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।’
        
उनले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रुपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले रास्वपाको संसद्मा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गरे । 
        
कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरुपमा रास्वपा प्रवेश गरेका छन् । उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
 

प्रतिक्रिया