प्रधानमन्त्री प्रचण्ड भन्छन् : ‘माओवादी सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन होला जस्तो लागे पनि स्थिति सहज छैन’ 

राम्रो अनलाइन     ०१ वैशाख २०८०, शुक्रबार
प्रधानमन्त्री प्रचण्ड भन्छन् : ‘माओवादी सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन होला जस्तो लागे पनि स्थिति सहज छैन’ 

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए ।

उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह समेत गरे । उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा ९माओवादी केन्द्र० सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको बताए ।

‘संविधानसभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ  भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ, उनले भने, अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपुर्‍याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।

जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने उनले चेतावनी दिए । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताए । उनले थपे, त्यसकारण पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती छ । त्यसैले योजनाबद्ध गर्ने कुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।

प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । उनले पार्टी जनतामा नजानु भनेको नेताहरुको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको बताए । उनले भने, ‘अब नेताहरुको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो । यसले पार्टी बनेन । जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो । कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’ प्रधानमन्त्री दाहालले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया