उपराष्ट्रपति यादवद्वारा पदबहाली

को हुन् उपराष्ट्रपति यादव
राम्रो अनलाइन     ०६ चैत २०७९, सोमबार
उपराष्ट्रपति यादवद्वारा पदबहाली


काठमाडौँ–उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हाल्नुभएको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए ।
     
उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
 
को हुन् उपराष्ट्रपति यादव
     
स्वच्छ तथा इमान्दार राजनीतिज्ञको छवि बनाउनुभएका उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत थिए ।
     
यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन्।

उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।
 
नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उनी उच्च शिक्षा लिइ भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।
     
यादव २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध भएका हुन् । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनी पार्टी महासचिव भए । 
     
उनी विसं २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए । 
 

प्रतिक्रिया