आयोग प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको छ : प्रमुख निर्वाचन आयुक्त थपलिया 

राम्रो अनलाइन     १० साउन २०७९, मङ्गलबार
आयोग प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको छ : प्रमुख निर्वाचन आयुक्त थपलिया 


काठमाडौँ–निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । 

आयोगले आज गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताए । उनले भने, ‘हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ।’ उनले सरकारले उपकरण उपलब्ध गराउने भए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेलाई कारबाही गर्ने बताए । उनले एक लाख ५६ हजार उम्मेदवार रहेकामध्ये एक लाख उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्ने तयारी गरिएको बताए ।  

आयोगले खर्च विवरण सङ्कलन गरिरहेको भन्दै नबुझाउने, तोकिएको समयमा नबुझाउने र समयमा बुझाए पनि खर्च सीमाभित्र नबुझाउनेलाई आयोगले पाँचवटा टोली गठन गरी छानबिन गरिरहेको उनको भनाइ रहेको छ । निर्वाचनको परिमाण भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्दछ । उनले देशभरि नै अनलाइन मतदाता नामावली सङ्कलन गर्ने बताए । 

उनले आगामी निर्वाचनमा स्थानीय तहमा प्रयोग गरिएका निर्वाचन सामग्री प्रयोग गर्ने बताए । ‘विसं २०७० को मतपेटिका अहिले पनि हामीले प्रयोग गरेका हौँ । अहिले पनि ७७ जिल्ला निर्वाचन कार्यालयमा आगामी निर्वाचनमा प्रयोग गर्ने के कस्ता सामग्री छन् त्यसको विवरण पठाउन भनेका छौँ’, उनले भने, ‘आगामाी निर्वाचनमा पनि थुप्रै निर्वाचन सामग्री प्रयोग गर्न सकिने छ ।’

आगामी निर्वाचनका लागि मतदाता शिक्षाका लागि विद्युतीय मिडियाको प्रयोग गरिने उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनको तुलनामा आगामी निर्वाचन भने खर्चिलो हुने बताए । ‘स्थानीय तहको निर्वाचन एकथरिका दुई करोड मतपत्र छापेका थियौँ । अबको निर्वाचनमा चार थरिका आठ करोड मतपत्र छाप्नुपर्ने हुन्छ’, उनले भने, ‘स्थानीय तहभन्दा आगामी निर्वाचनमा खर्च बढ्छ ।’

उनले आगामी निर्वाचनमा मतदान केन्द्रको पुनरावलोकन गरिने बताए । उनले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी मतदाता पनि आगामी निर्वाचनमा हुने बताए । 
 
कारागारका कैदी, कर्मचारी, निर्वाचनका काममा खटिएका कर्मचारी पनि मतदानमा सहभागी गराइने उनको भनाइ थियो । अन्तिम नामावाली प्रकाशित गरेपछि मात्र अस्थायी मतदाताको नामा पनि प्रकाशित गरिने उनले बताए । 

प्रतिक्रिया