नवनिर्वाचित उपसभामुख भुसालबाट प्रतिनिधिसभालाई जनमुखी बनाउने प्रतिबद्धता

राम्रो अनलाइन     ३१ असार २०७९, शुक्रबार
नवनिर्वाचित उपसभामुख भुसालबाट प्रतिनिधिसभालाई जनमुखी बनाउने प्रतिबद्धता

 

काठमाडौँ– नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले संसद्लाई जनमुखी बनाउन भूमिका निर्वाह गर्ने बताएकी छिन् । उपसभामुख पदमा निर्वाचित भएपछि उनले संसदीय परम्परा र मूल्य–मान्यतालाई कायम राखेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरेकी हुन् । ‘मुलुकमा कानूनको शासन बलियो भए मात्र लोकतान्त्रिक विधि र नागरिक अधिकार स्थापित हुन्छ’, उनले भनिन् । उनले आफू सधैँ जनताप्रति उत्तरदायी र जिम्मेवार हुने बताइन् । 

निरङ्कुश जहानियाँ राणा शासनको विरुद्धमा सङ्घर्ष गरेका पिता काशीनाथ गौतम र माता शारदा गौतमको कान्छी छोरीका रूपमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा विसं २०१७ फागुन १ गते जन्मिएकी उनी सानैदेखि राजनीतिमा अभिरुचि राख्थिन्। 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिपरिषद्मा भुसालका पिता स्वास्थ्य तथा स्थानीय स्वायत्तमन्त्री थिए । तत्कालीन राजा महेन्द्रले बिपी नेतृत्वको जननिर्वाचित सरकारलाई नियन्त्रण गरी व्यवस्था विघटन गरेपछि निर्वासनमा पर्नुभएका पितासँगै गोरखपुर जानुभएकी भुसालले बाल्यकालदेखि नै प्रजातन्त्रका लागि राजनीतिक नेताहरुको जमघटलाई नजिकबाट अध्ययन गरेकी थिइन । 

विसंं २०२५ देखि नै पिताको प्रेरणाबाट राजनीति सुरु गरेकी भुसालले  कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराईसँग भेट हुने अवसर प्राप्त गरेपछि मुलुकमा प्रजातन्त्र स्थापना गर्ने सङ्कल्प गर्दै राजनीतिका माध्यमबाट समाजसेवा गर्ने प्रतिज्ञा गरेकी थिइन् । 

देश र जनताको समृद्धिका लागि नेपाली कांग्रेसको विचारलाई आदर्श मान्ने राजनीतिक परिवारमा जन्मनुभएकी भुसालको प्रारम्भिक शिक्षा भारतबाट सुरु भएको थियो । उनले गोरखपुर एडी इन्टर कलेजबाट एसएलसी गरेकी हुन् । 
थियो । नेपाल ल क्याम्पसबाट स्नातक गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

उच्च शिक्षा अध्ययनका क्रममा नेविसङ्घमा संलग्न भई विभिन्न राजनीतिक आन्दोलनमा भूमिका निर्वाह गरेकी नवनिर्वाचित उपसभामुख भुसाल प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा परेकी थिइन् । उनले नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार र नेपाल महिला सङ्घमा दुई पटक महामन्त्रीको जिम्मेवारी पूरा गरेकी थिइन् । कांग्रेसको महिला विभागमा सक्रिय रहनुभएकी उनले विसं २०४६ देखि २०५६ सम्म तत्कालीन रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन  गरेकी थिइन् । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट प्रत्यासी उनी विसं २०६४ को संविधानसभामा सोही स्थानबाट निर्वाचित भएकी थिइन् । 

लामो समय कानून व्यवसायमा संलग्न रहेकी उपसभामुख भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । दोस्रो जनआन्दोलनपछि निर्माण भएको अन्तरिम संविधानको मस्यौदा समितिमा सदस्यका रूपमा कांग्रेसका तर्फबाट उनले प्रतिनिधित्व गरेकी थिइन् । विश्व राजनीतिक घटनाक्रमलाई नजिकबाट अध्ययन गर्ने उनको रुचि पुस्तक अध्ययन, सामाजिक न्याय र सङ्गीत सुन्ने रहेको छ । 

वरिष्ठ चिकित्सक उहाँका श्रीमान् चोपलाल भुसालको साथ सहयोगका कारण पनि राजनीतिमा निरन्तरता दिएकी उपसभामुख भुसालका एक छोरा पल्लव छन् । उहाँ विसं २०७४ को आम चुनावपछि सांसद भए लगत्तै भुसाल उपसभामुखको निर्वाचनमा प्रत्याशी बनेकी थिइन् । उनी तत्कालीन वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भएकी थिइन् । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा उनले ५८ मत प्राप्त गरेकी थिइन् । 

वर्तमान सत्ता गठबन्धनका तर्फबाट आज भएको उपसभामुखको निर्वाचनमा भुसाल १४८ मत ल्याएर विजयी भएकी हुन्  । उनका प्रत्याशी नेकपा (एमाले) का तर्फबाट विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् । 
 

प्रतिक्रिया