सिन्धुपाल्चोक– २०७४ सालको स्थानीय तहका निर्वाचनमा नेकपा (एमाले)बाट बलेफी गाउँपालिका अध्यक्षमा विजयी केदार क्षेत्री मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पार्टी सदस्यता लिएर अध्यक्ष क्षेत्री कांग्रेस संगठनमा आबद्ध भएका हुन् । एमाले सिन्धुपाल्चोकमा प्रभावशाली नेताको पहिचान बनाएका क्षेत्री एमाले बागमती प्रदेश सचिवालय सदस्य समेत थिए ।
अध्यक्ष क्षेत्री संगै एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, अर्का जिल्ला कमिटी सदस्य सुवास सुन्दास, विष्णु तिमल्सिना लगायत तीन सय एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। कांग्रेसमा आबद्ध भएर जनताका सेवा गर्ने नवप्रवेशी क्षेत्रीले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशी क्षेत्रीले कांग्रेसमा आबद्ध भएर संगठन विस्तारमा लागेर तीनै तहका सरकारमा कांग्रेसलाई जिताउन लाग्ने बताए । कांग्रेस युवा नेता सुवास तिमल्सिनाले गाउँपालिकाका अध्यक्ष कांग्रेस प्रवेश गरेपछि एमाले, माओवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ता कांग्रेस प्रवेश गर्न थालेको जानकारी दिए । नवप्रवेशीलाई क्षमता अनुसारको पद दिइने नेका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।