सुदूरपश्चिम प्रदेशको हिँउदे अधिवेशन सोमबारबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको झण्डै ६ महिनापछि हिँउदे अधिवेशन सुरु हुन लागेको हो।
सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
बैठकमा नेकपाका केपी शर्मा ओली पक्षका सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । सरकारबाट बाहिरिएको ओली पक्षले प्रतिपक्षसँग मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो ।
प्रदेश सभाको एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते सकिएको थियो।