कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

राम्रो अनलाइन     १५ कात्तिक २०७८, सोमबार
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा


कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । 

सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताए । सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको उनले जनाए ।

समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उनले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा  २ अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको सम्बोधनमार्फत जानकारी दिए । 

मन्त्रिपरिषद् बैठक बसेर राजीनामा दिएका मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि कांगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताए । ‘हामीबीच भद्र सहमतिअनुसार उहाँले राजीनामा दिनुभएको छ,’  उनले भने, ‘मुख्यमन्त्रीले राजीनामापश्चात् दुई÷चार दिन पर्खन अनुरोध गरे त्यहीअनुसार आफू मुख्यमन्त्री बन्ने सोच गरेको छु ।’
 

प्रतिक्रिया