नेकपा प्रचण्ड–माधव समूहको हडताल : कहाँ के भइरहेको छ ? (तस्बिरसहित)

राम्रो अनलाइन     २२ माघ २०७७, बिहिबार
नेकपा प्रचण्ड–माधव समूहको हडताल : कहाँ के भइरहेको छ ? (तस्बिरसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । केही निजी, अस्पताल, अत्यावश्यक सेवा तथा शैक्षिक क्षेत्रका गाडी बाहेक अन्य सवारी साधन उपत्यकामा चलेका छैनन् ।

केही स्थानमा तोडफोड तथा आगजनी भएका छन् । धेरैजसो स्थानमा प्रदर्शनकारी संयमित देखिएका छन् । काठमाडौँ उपत्यकाको गोंगबु नयाँ बसपार्कमा अपरिचित व्यक्तिले एक ट्याक्सीमा आगजनी गरे । सातदोबाटोमा एउटा मोटरसाइकल प्रदर्शनकारीले तोडफोड गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन सिफारिस राष्ट्रपति समक्ष गरेसँगै प्रचण्ड–माधव समूह आन्दोलनरत रहेको छ । त्यस्तै संसदीय सुनुवाइबिना संवैधानिक आयोगले सिफारिस गरेका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई बुधबार नियुक्त तथा सपथ खुवाएपछि प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल गरेका हुन् ।

हालसम्म कहाँ के भयो ?
उपत्यकाका केही स्थानमा तोडफोड र आगजनी भएको छ । एकाबिहानै गोंगबु नयाँ बसपार्कमा एक ट्याक्सी जलाइएको छ । त्यस्तै सातदोबाटोमा एउटा मोटरसाइकल प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

चाबहिल चोकमा प्रदर्शनकारीले टायर बालेर बाटो अबरुद्ध पारेका छन् । एकाबिहानैदेखि बन्दकर्ताले सवारी साधन चल्न दिएका थिएनन् । यस्तै रिङरोडभित्रका नयाँ बानेश्वर, रत्नपार्क–जमल, लगनखेल, पुल्चोक लगायतका स्थानमा पनि प्रदर्शनकारीहरू सवारी आवगमन रोक्न बसेका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा बजार तथा पसलहरू बन्द गरिएका छन् । सवारी साधन चलेका छैनन् । त्यहाँ एक खाज पसलमा तोडफोड भएको छ भने दुई जना सञ्चालक (आमाछोरी) घाइते भएका प्रहरीले बताएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ । यससँगै राजमार्ग खुलेको छ ।

जनकपुरमा झडप, प्रहरीले गर्‍यो हवाइ फायर


जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा नेकपाका पूर्वमन्त्रीहरू रामचन्द्र झा र मातृका यादव घाइते भएका छन् । 

बजार बन्द गर्न हिँडेका नेकपा कार्यकर्तालाई रोक्दा झडप भएको थियो । सोही क्रममा प्रहरीले एक दर्जन हवाइ फायरसमेत गरेको छ ।

भरतपुरमा चार ट्रक तोडफोड 
बन्दको अवज्ञा गरेको भन्दै चितवनको भरतपुरमा चार वटा ट्रकमा तोडफोड भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक बन्दकर्ताले तोडफोड गरेका हुन् ।

 

प्रतिक्रिया