विवादका बीच संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा ५ आयुकत तथा अध्यक्षा र २७ जना आयुक्त तथा सदस्यले सपथ ग्रहण गरेका हुन् ।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका प्रमुख आयुक्त तथा अध्यक्ष र आयुक्त एवम् सदस्य नियुक्त गरेकी हुन् ।
३० मंसिरमा बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भएर संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी भएका थिए भने सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरेका थिए ।
त्यो बैठकमा संवैधानिक निकायमा पदपूर्तिबारे छलफल भए पनि निर्णय नभएको बताइएको थियो ।
उपराष्ट्रपति पुन र सभामुख सापकोटाले गरे बहिस्कार
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्त भएकाको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । बुधबार बिहान भएको सपथ ग्रहण समारोहमा उनीहरू अनुपस्थित भएका हुन् ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।