थप तीन एमाले प्रदेशसभा सदस्यले नयाँ पार्टीमा गराए सनाखत

राम्रो अनलाइन     २० भदौ २०७८, आइतबार
थप तीन एमाले प्रदेशसभा सदस्यले नयाँ पार्टीमा गराए सनाखत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आइतबार सनाखत गराएका छन् । 
    
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् । 
   
सोडारी र तामाङ क्रमशःनेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । प्रदेशसभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ । प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । 
   
प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् । यसअघि नेकपा (एमाले) का प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्य मन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउँद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउँद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए ।
  
आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।
 

प्रतिक्रिया