कांग्रेस जिल्ला सभापतिको अनशन तोडियो

राम्रो अनलाइन     १२ भदौ २०७८, शनिबार
कांग्रेस जिल्ला सभापतिको अनशन तोडियो

काठमाडौँ– विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।

जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिनुभएका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुगेका थिए ।

पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले बताए ।

‘जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ’, उनले भने । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो ।
 

प्रतिक्रिया