महाधिवेशन नजिकिए पनि क्रियाशील सदस्यता सम्बन्धी विवाद कायमै रहेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरूले सोमबार भिन्नै बैठक गरे।
महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको अनौपचारिक बैठकमा पार्टीलाई संकटमा जान नदिन १४ औं महाधिवेशन भदौ १६ देखि नै गर्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका थिए।
भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन छ। तर साउन १२ मा गर्ने भनेको वडा अधिवेशनदेखि गाउँरनगर, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ।
तर पनि नयाँ कार्यतालिका ल्याइएको छैन। वरिष्ठ नेता पौडेलले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गरिनुपर्ने बताए। ‘महाधिवेशन तोकिएको समयमा गरेर अझै पनि पार्टीको वैधानिकता जोगाउन सकिने ठाउँ छ,’ पौडेलले भने।
क्रियाशील सदस्यतामा देखिएका विवाद दुई दिनभित्र हल गर्न सकिने पौडेल बताउँछन्। विवाद शीर्ष नेताले हल गर्ने भने पनि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि भएकोले पर्याप्त छलफल गर्न समय दिन सकिरहेका छैनन्।
सभापति देउवाले साउन २८ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्। यो बैठक महाधिवेशन तयारी केन्द्रित रहनेछ। पौडेल पक्षले भने क्रियाशील सदस्यता विवाद सकेर मात्रै अब नयाँ कार्यतालिका ल्याउनुपर्ने अडान राख्ने भएको छ।
वडादेखि केन्द्रसम्म सात तहको अधिवेशन गर्न प्रक्रिया छोट्याएर अझै पनि सम्भव रहेको नेताहरूले बताएका छन्। पौडेल पक्षले पार्टीलाई संकटबाट टार्न छोटो समयका लागि विशेष अधिवेशनमा जोड दिए पनि देउवाले नमानेपछि नियमित अधिवेशन नै गर्नतर्फ दवाव दिने पौडेल पक्षको रणनीति छ।
सभापति देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। उनले पछिल्लोपटक छ महिनाका लागि थपेको कार्यकाल सकिन लागेको हो। यसपछि म्याद थप गर्न आफूहरूको सहमति नहुने पौडेलले बताइसकेका छन्।
यस्तै महाधिवेशन गर्न सहज बनाउन कांग्रेसका जिल्ला सभापतिहरू पनि काठमाडौंमा भेला भएका छन्।
काठमाडौं सभापति सबुज बानियाँका अनुसार महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने माग आफूहरूको छ। ३५ जना जिल्ला सभापति भौतिक रूपमै र १२ जना जिल्ला सभापति भर्चुअल रूपमा भेलामा सहभागी भएका छन्।
सभापतिहरूको बैठक आज पनि बस्ने र निर्णय तथा सुझाव सभापति र वरिष्ठ नेतालगायतलाई बुझाउने तयारी छ।