अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई आफैँ लिखित जवाफ पेश गर्न अदालतको आदेश

चार पूर्वप्रधानन्यायाधीशलाई पनि सोही प्रकृतिको आदेश
राम्रो अनलाइन     १५ माघ २०७७, बिहिबार

अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतले आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

उनीविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले कसैलाई वारेस राखेर जवाफ पेश गर्न पाउने छैनन् । 

यसैबीच चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा पनि प्रधानमन्त्री ओली प्रकृतिकै आदेश जारी भएको छ । चारै जनाले अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई यस्तो आदेश दिएको हो । यसैगरी पूर्वसभामुख दमन्नाथ ढुंगानालाई पनि ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए ।

४ पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।

प्रतिक्रिया