गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

राम्रो अनलाइन     ०४ असार २०७८, शुक्रबार
गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

गण्डकी, ४ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गरेका थिए । आजको बैठकमा ५८ सदस्य उपस्थित थिए  ।

मुख्यमन्त्रीलाई उनको दल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गरेका थिए । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज मत लिएका हुन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएको खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उनले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्नुहुने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उनले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गरे पनि उनीहरूको कार्यविभाजन बाँकी छ । 
 

प्रतिक्रिया