नेपाल समूहविरुद्ध अनर्गल प्रचार शुरू भयो : घनश्याम

राम्रो अनलाइन     २४ जेठ २०७८, सोमबार
नेपाल समूहविरुद्ध अनर्गल प्रचार शुरू भयो : घनश्याम

नेकपा (एमाले)का नेता घनश्याम भुसालले माधवकुमार नेपाल पक्षविरुद्ध एमालेभित्रै ‘मण्डले’ समूह सक्रिय रहेको बताएका छन्। भुसालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै नेपाल समूहविरुद्ध अनर्गल प्रचार शुरू भएको जनाएका छन्। भुसालले भनेका छन्, “फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ।”

उनले यस्तै समूह पञ्चायतकालमा सक्रिय रहेको स्मरण गरेका छन्। “पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन,” भुसालले भनेका छन्। 

त्यतिबेलाका कतिपय पञ्च पनि त्यो समूहबाट आजित रहेको उनले जनाएका छन्। त्यतिबेला पञ्चहरूले भन्ने गरेको कुरा उल्लेख गर्दै भुसालले भनेका छन्, “त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु।”

अहिले त्यस्तै मण्डले समूह नेपाल पक्षविरुद्ध खडा भएको भुसालको भनाइ छ। “आज नेकपा (एमाले)को राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन?” उनले प्रश्न गरेका छन्। 

यस्ता क्रियाकलापले कसैलाई फाइदा नहुने उनको भनाइ छ। मण्डले समूहले त्यसका संरक्षकका लागि नै घातक हुने स्मरण गराएका छन्। भुसालले भनेका छन्, “धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्।”
 

Ghanashyam Bhusal

फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?
धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।

प्रतिक्रिया