काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहित, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णले पार्टी विधान विपरीत काम गरेकोले पार्टीबाट निष्कासन गरेको जनाएको छ ।
‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ ।
जसपामा केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद चर्किँदो छ । ठाकुर-महतो पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उता भट्टराई-यादव समूहले भने ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने बताउँदै हस्ताक्षरसमेत गरिसकेको छ ।
